कोभिडविरुद्धको खोपबारे चासो र चिन्ता

By: ParbatKhabar
9 months ago
view: 78

नयाँ वर्ष २०२१ को आगमनसँगै विश्वभर एउटा आशाको किरण छाएको छ । किनकी कोरोना भाइरस महामारीविरुद्धका ३ वटा खोपले सम्बन्धित देशबाट प्रयोगका लागि अनुमति पाएका छन् ।

फ्रन्टलाइनमा काम गर्ने चिकित्सक भएको कारण मैले डिसेम्बर १५, २०२० मा कोभिड–१९ विरुद्ध फाइजरको खोप लगाएँ । अबका केही महिनामा नेपालमा पनि खोप अवश्य आउँछ । खोपका बारेमा तथ्यहरू दिनदिनैजसो परिवर्तन हुँदैछ र नयाँ–नयाँ सूचनाहरु आइरहेका छन् । म यहाँ खोपसँग सम्बन्धित केही जानकारी गराउने कोशिस गर्नेछु ।

अहिलेसम्म कोभिडविरुद्धका तीनवटा खोपले अनुमति पाएका छन्, ती हुन् फाइजर, मोडर्ना र एस्ट्राजेनेका । यी खोपहरूले अनुसन्धानको तेस्रो चरण पूरा गरिसकेका छन् र धेरै देशहरुमा आपतकालीन उपयोगको लागि अनुमति पनि पाइसकेका छन् । अहिलेसम्मको अनुसन्धान अनुसार यी तीन खोपबीच केही भिन्नता छन् ।

फाइजर ः यो एमआरएनए खोप माइनस ७० डिग्री सेल्सियसमा ६ महिना र माइनस ४ डिग्री सेल्सियसमा ५ दिनसम्म भण्डारण गर्न सकिन्छ । यसलाई वास्तवमै चिसो तापक्रमको आवश्यकता पर्दछ । यो खोप २१ दिनको फरकमा २ पटक लगाइन्छ । कोभिड–१९ संक्रमण कम गर्ने र लक्षण कम गर्नेमा यसको प्रभावकारिता ९५ प्रतिशत देखिएको छ र यसको प्रयोगबाट मानव स्वास्थ्यमा कुनै गम्भीर असर देखिएको पनि छैन ।

चिकित्सा विज्ञानमा धेरै निर्णय जोखिम र लाभ (रिस्क–बेनिफिट) निर्धारणको आधारमा गरिन्छ । अहिलेसम्मको परिणाम हेर्दा खोपमा जोखिमभन्दा लाभ बढी छ

मोडर्ना ः यो एमआरएनए खोप माइनस ४ डिग्री सेल्सियसमा १ महिनाको लागि भण्डारण गर्न सकिन्छ । २८ दिनको फरकमा २ पटक दिइने यो खोपले लगभग फाइजर खोपले जस्तै कोभिड संक्रमण कम गर्ने र लक्षण कम गर्छ । यसको प्रभावकारिता ९४ प्रतिशत देखिएको छ र स्वास्थ्यमा कुनै गम्भीर असर पनि देखिएको छैन ।

एस्ट्राजेनेका ः यो एउटा डीएनए खोप हो र यसलाई २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । यो खोप पनि २८ दिनको फरकमा २ पटक लगाइन्छ । अहिलेसम्म यसले कोभिड भाइरसको सार्ने शक्तिलाई ७६ प्रतिशत प्रभावकारिताले कम भएको देखाएको छ र कुनै गम्भीर असरहरु देखिएको छैन ।

फाइजर र मोडेर्ना संक्रमण र लक्षण कम गर्न प्रभावकारी देखिएका छन् भने एस्ट्राजेनेकाले भाइरसको सार्ने शक्तिलाई कम गर्छ । त्यसबाहेक एस्ट्राजेनेकाको खोप अधिक तापक्रममा भण्डार गर्न सकिन्छ र अन्य दुई खोपहरूको तुलनामा सस्तो पनि छ । यही कारणले एस्ट्राजेनेका अरु दुई खोपको तुलनामा नेपालमा सजिलोसँग उपलब्ध हुनेछ । यी तीनबाहेक अरु कम्पनीले पनि खोप परीक्षण गर्दै छन्, जसले खोपको विश्वव्यापीे उपलब्धतामा सहयोग पुर्याउँछ ।

म फाइजरको खोप प्राप्त गर्नेमध्येको एक नेपाली हुँ भन्दा भाग्यशाली महसुस गर्छु । तर खोपबारे विभिन्न आशंका र गलत सामग्रीहरु सार्वजनिक भएको देख्दा दुःख लाग्छ ।

अमेरिकामा सुरुमा स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिकलाई खोपमा प्राथमिकता दिइएको छ र खोपबारे केही अविश्वास पनि कायमै छ । विज्ञानतः स्पष्ट छ, खोप सुरक्षित छ ।

त्यसो भए किन यति धेरै अविश्वास ? खोपहरू नेपालमा आउनु भन्दा पहिला नै, हामीले यी आशंकाबारे बुझ्नुपर्छ । खोपमा आशंका हुनुका केही कारणबारे छलफल गरौं ।

१. छोटो अवधिमै खोप कसरी उपलब्ध भयो ?

यसभन्दा पहिला सबैभन्दा छिटो बनाइएको खोप मम्प्सु भाइरसको थियो, जुन तयार हुन ४ वर्ष लागेको थियो । साधारणतया खोप निर्माणको चरण धेरै लामो हुन्छ ।

त्यसो भए कोभिड–१९ को खोपचाहिँ कसरी एक वर्षभित्रै तयार भए त ? खोप विकासमा दुईवटा कुरा महत्वपूर्ण हुन्छ, ती हुन् बजेट र भाइरससम्बन्धी पूर्वज्ञान खोप निर्माणका लागि सबैभन्दा महत्वपूर्ण तत्व बजेट नै हो, खोप निर्माणको प्रत्येक चरणको लागि बजेटको पुनर्मूल्यांकन गर्नु पर्छ । हरेक चरणमा बजेटको पर्खाइले खोप निर्माण अवधि लम्बिँदै जान्छ । तर कोरोना भाइरसविरुद्धको खोप निर्माणका लागि विश्वभरका धेरै देशले सहकार्य गरे । त्यसैले कोभिड खोपका लागि बजेटको अभाव भएन । धेरै देशहरुले निर्माणअघि नै आफ्ना नागरिकका लागि खोप माग गरिसकेका थिए ।

कोरोना भाइरस र खोपहरूका बारेमा पूर्वज्ञान भएकाले पनि उत्पादन प्रक्रिया छिटो हुन पुग्यो । सन् २००२ मा फैलिएको सार्स र २०१२ सालमा मर्स पनि कोरोना भाइरस नै थिए । यी भाइरसविरुद्ध खोप बनाउने प्रक्रिया यसअघि नै सुरु भइसकेको थियो । २००२ सालको सार्स भाइरसविरुद्ध खोप बनेर पहिलो चरण पार गरिसकेको थियो तर भाइरस निर्मूल भएको हुनाले उत्पादन रोकिएको थियो । यी कोरोना भाइरस सम्बन्धित विगतका अनुभव र ज्ञानहरुले गर्दा खोप निर्माणको प्रक्रिया सजिलै अघि बढ्यो । त्यस्तै एमआरएनए प्रविधि पनि क्यान्सरसम्बन्धी अनुसन्धानमा पहिलेदेखि नै प्रयोग हुने भएकाले पनि कोरोना खोपका लागि सजिलो भयो ।

२. खोपले अरु केही असर गर्छ कि ?

परीक्षणको चौथो चरणमा खोपको प्रभाव र त्यसले ल्याउने गम्भीर असरहरुको निगरानी गरिन्छ । यो परीक्षणबाट खोप सुरक्षित छ भन्ने भरोसा हुन्छ । विशेष गरी एमआरएनए खोप अधिक सुरक्षित छ । यी खोपहरूले एक प्रोटिन (स्पाइक प्रोटिन) निर्माण गर्छ र हाम्रो प्रतिरक्षा प्रणालीले यसकोविरुद्ध एन्टिबडी बनाउँछ ।

चिकित्सा विज्ञानमा धेरै निर्णय जोखिम र लाभ (रिस्क–बेनिफिट) निर्धारणको आधारमा गरिन्छ । अहिलेसम्मको परिणाम हेर्दा खोपमा जोखिमभन्दा लाभ बढी छ ।

कोभिडविरूद्ध खोप उपलब्ध हुनेवित्तिकै अग्रपंक्तिमा खटिने चिकित्सकको हिसाबले मैले लगाउन पाएँ । कोभिडको सुरुवातदेखि मैले यो भाइरस कति डरलाग्दो छ भनेर आफ्नै आँखाले देखेको थिएँ । डरलाग्दो मृत्यु सामना गर्नुपरेको अवस्थाको कारणले यसरी समयमा नै खोप उपलब्ध हुँदा म धेरै खुशी छु ।

खोप लगाएको भोलिपल्ट मलाई हल्का ज्वरो आयो र शरीर दुखाइको महसुस भयो । पारासिटामोल लिएपछि ज्वरो र दुखाइ समाधान भयो । यस्ता लक्षण खोप लगाएपछि प्रतिरक्षा प्रणालीबाट हुने एक अपेक्षित प्रतिक्रिया नै हो । आज मैले खोप लगाएको २० दिन भयो र मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन । मैले दोस्रो डोज जनवरी ५, २०२१ मा लगाउनुपर्नेछ ।

कोभिड–१९ को नयाँ प्रकार (स्ट्रेन) विश्वका धेरै देशमा पाइएको छ । उक्त स्ट्रेन सर्न सक्ने बढी क्षमता देखिएको छ । यो समाचारले गर्दा खोपले काम गर्न नसक्ने चिन्ता छ । कुनै पनि भाइरसले रेप्लिकेट हुँदा परिवर्तित हुनेछ भन्ने अपेक्षा हुन्छ र खोप बनाउँदा पनि यही अनुमानका साथ बनाइएको हुन्छ । भाइरसको नयाँ प्रकारबारे जान्न धेरै बाँकी छ ।

तर सम्भवतः यी खोपहरूले नयाँ भाइरसविरुद्ध पनि काम गर्नेछ । यो हाम्रो विश्वको लागि वैज्ञानिक जित हो र नेपालमा पनि खोप लगाउने अवसर निश्चित रुपले आउनेछ ।

नयाँ वर्षको लागि मेरो आशा र प्रार्थना यही छ कि नेपालमा सबैले खोप लगाउने अवसर पाउन् । खोप आउँदासम्म आशा राख्नुहोस्, मास्क लगाइरहनुहोस्, हात धुनुहोस्, कोरोना  भाइरसबारे जानकारी लिइराख्नुहोस् ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।