युवा भलिबल स्टार शरण : सपना पूरा भयो, लक्ष्य बाँकी छ

By: ParbatKhabar
7 months ago
view: 19

नेपालमा धेरैजसो खेलाडीले आफ्नो करियरको सुरुवातमा परिवारभित्रै संघर्ष गर्नुपर्छ । निकै थोरै खेलाडीले मात्रै सुरुदेखि परिवारको साथ र सहयोग प्राप्त गर्छन् । यस्तै, भाग्यमानीमध्येका एक हुन् शरण सामरी क्षेत्री ।

शरणले गत वर्ष भएको नेपाल भलिबल संघको एनभीए अवार्डमा इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे । त्यसअघि उनले नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुद सागबाट राष्ट्रिय टिममा डेब्यु गरेका थिए । यहाँसम्म आउन आफूलाई पाइला–पाइलामा परिवारको सपोर्ट रहेको सुनाउँछन् शरण धादिङमा स्कुल पढ्दादेखि नै भलिबल खेल्न थालेका शरणले कुनै दिन राष्ट्रिय टिममा पुग्ने सपना देखेका थिए । अन्ततः उनको त्यो सपना अहिले पूरा भइसकेको छ । तर, उनका कैयन् लक्ष्यहरू अझै पूरा गर्न बाँकी छन् ।धादिङ स्थायी घर भएका शरण खेलाडी मात्र नभएर राष्ट्रसेवक कर्मचारी पनि हुन् । नेपाली सेनाको जागिरेका रुपमा उनी त्रिभुवन आर्मी क्लबाट राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता खेल्छन् ।

सुरुदेखि नै उत्कृष्ट

धादिङ ज्वालामुखी गाउँपालिकास्थित मैदीमा जन्मिएका शरण परिवारको एक्ला छोरा हुन् । उनले एसएलसी र उच्चमाविसम्म गाउँकै स्कुलमा पढे । ठूलोचौरबाट माविसम्मको अध्ययन सकाएका उनले संस्कृत उमाविमा प्लस टु पढेका थिए । तर, नेपाली सेनामा जागिर खाने चक्करमा लागेपछि उनले १२ कक्षाको पढाइ पूरा गर्न पाएनन् ।

स्कुलमा पढ्दादेखि नै उनमा भलिबलको लत लागिसकेको थियो । स्कुलस्तरीय प्रतियोगिता हुँदा उनको नाम कहिलै छुट्दैन’थ्यो । स्रोत केन्द्र स्तरीय प्रतियोगिता मैदी र ढोलामा हुन्थ्यो ।

‘लगभग वर्षमा ४–५ वटा प्रतियोगिता हुँदा हामी सधैँ च्याम्पियन हुन्थ्यौँ,’ शरणले पुराना दिन सम्झिए ।

उनले ८ कक्षा पढ्दादेखि भलिबल खेल्न थालेका हुन् । ८ देखि १० कक्षासम्म नै उनको टिम च्याम्पियन बन्यो । उच्चमाविस्तरीयमा पनि उही सिलसिला जारी रह्यो । प्राय खेलमा शरणको टिम च्याम्पियन बन्दा शरणले धेरै व्यक्तिगत अवार्डहरू जिते ।

‘वर्षमा ३–४ वटा खेलमध्ये एक–दुई वटाबाहेक अरूमा म नै बेस्ट प्लेयर भएको छु,’ शरणले भने ।

नलाङ ढोला धादिङमा खेल भइरहन्थ्यो । त्यसमा उनले केही न केही अवार्ड पाउँथे । ‘बेस्ट प्लेअर, बेस्ट स्पाइकर, बेस्ट सर्भर केही न केही पाइरहन्थे । प्रमाणपत्र र तीन/पाँच हजार रुपैयाँ पुरस्कार हुन्थ्यो । उनले स्कुलमा पढ्दा पहिलोपटक तीन हजार रुपैयाँ नगद पुरस्कार पाएका थिए ।

शरणले दुईपटक राष्ट्रपति रनिङ सिल्ड पनि खेले । पहिलोपटक ९ कक्षामा हुँदा चितवनमा भएको राष्ट्रपति रनिङ सिल्डको जिल्लास्तरीय भलिबल खेलेर फाइनलमा पुगेका थिए । फाइनलमा भने पराजित भए । दोस्रोपटक हेटौंडामा खेलेका थिए ।

उनलाई भलिबल खेल्न घरमा बुबा–आमाको पूरा सपोर्ट थियो । ‘छोराले भलिबलमै केही गर्छ भन्ने विश्वास बुबाआमामा थियो । जहाँ गेम हुँदा पनि, घरमा जे समस्या परे पनि मेरो खेल छुट्दैन’थ्यो,’ शरणले भने ।

शरणको घरमा बुबा–आमा र हजुरआमा गरी चार जना मात्र छन् । एक्लो छोरा भएकोले माया त प्रशस्त पाउने नै भए । त्यसमाथि खेलमा पनि समर्थन भएपछि उनको यात्रा सहज बन्यो ।

पढाइ छाडेर सेनामा

भलिबल राम्रो खेल्ने भएकै कारण शरणले नेपाली सेनामा प्रवेश पाए । कक्षा १२ मा पढिरहँदा उनी सेनामा भर्ती भएका हुन् ।

‘मेरो अंकल सुबेदार हुनुहुन्थ्यो । भलिबल राम्रो खेल्छौ, अहिले जागिर खायौ भने सजिलो हुन्छ भन्नुभयो । मैले पनि कोसिस गरौं न त भनेर आवेदन दिएँ । फ्याट्टै नाम निस्कियो,’ शरणले सुनाए ।

त्यसपछि उनी पढाइ नै छोडेर जागिरतिर लागे । उनको १२ कक्षाको पढाइ पूरा हुन पाएन । अझै पनि पढाइलाई निरन्तरता दिने सोचमा भने उनी छन् ।

२०७३ सालमा सेनामा भर्ति भएका उनले सुरुमा नुवाकोटको विदुरमा गएर गएर एक वर्ष तालिम गरे । २०७४ साल जेठमा उनी तालिम सकाएर काठमाडौं आए । विदुरबाट पासआउट भएर आएपछि उनको युनिट छाउनस्थित जगदल गणमा प‍र्‍यो । त्यहीँबाट उनलाई भलिबलमा जाने अवसर मिल्यो ।

‘त्यहाँ हाम्रो सुबेदार पूर्वराष्ट्रिय खेलाडी दीप खड्का हुनुहुन्थ्यो । उहाँले नै क्लबमा ल्याउनुभयो,’ शरण भन्छन्, ‘जगदलमा बसेको ४ महिनापछि म २०७४ कात्तिक ९ गते त्रिभुवन आर्मी क्लबमा आबद्ध भएँ र खेल सुरु गरेँ ।’ त्यहीँबाट उनको भलिबलमा करियर सुरु भयो ।

त्यसपछि उनको दैनिकी नै क्लबमा ट्रेनिङ गर्ने र भलिबल खेल्ने बन्न थाल्यो । आर्मीबाट उनले सुरुमा पोखरामा भएको एनभीए राष्ट्रिय भलिबल लिग च्याम्पियनसिप खेल्ने मौका पाए । त्यसपछि आर्मीले खेल्ने अन्य प्रतियोगताहरूमा पनि उनी समावेश हुन थाले ।



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।