सुदूरपश्चिममा एचआइभी संक्रमण दर बढ्दो

By: ParbatKhabar
7 months ago
view: 31

सुदूरपश्चिममा एचआइभी संक्रमण दर बढ्दै गएको छ । देशमै सबैभन्दा बढी संक्रमित रहेको कैलालीमा एक वर्षमा मात्रै एक सय ५२ जना संक्रमित थपिएका छन् भने ३५ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय, कैलालीका अनुसार गत वर्ष जिल्लाका विभिन्न स्थानमा ६ हजार एक सय १३ जनामा परीक्षण गरिएको थियो । जसमध्ये एक सय ५२ जनामा एचआइभी संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए । नयाँ फेला पर्ने संक्रमितमध्ये अधिकांश भारतमा रोजगारी गरी फर्केका र उनीहरूका श्रीमती तथा यौनकर्मी रहने गरेका छन् । गत वर्ष पत्ता लागेका नयाँ संक्रमितमध्ये ५५ जना भारतबाट फर्केका र उनीहरूका परिवारका सदस्य छन् ।

स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष ०७३/७४ मा एक सय २५ जना, ०७४/७५ मा एक सय १५ र ०७५/७६ मा एक सय सातजनामा नयाँ संक्रमित फेला परेका थिए । देशभरमै सबैभन्दा बढी एचआइभी संक्रमित भएको जिल्लामा पर्ने कैलालीमा अहिले एक हजार चार सय ४६ जनाले नियमित रूपमा एआरटी सेवन गरिरहेका छन् । कैलालीमा सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल र मालाखेती अस्पतालमा एआरटी सेवा सञ्चालनमा छ ।

भारतीय रोजगारीमा जानेको संख्यामा कमी नआउनु र परीक्षणको दायरा बढ्नुले संक्रमित पत्ता लाग्ने दर बढ्दै गएको स्वास्थ्यकर्मी बताउँछन् । यद्यपि, विगत वर्षको तुलनामा नयाँ संक्रमित पत्ता लाग्ने संख्या पछिल्ला केही वर्षयता कम हुँदै गएको एचआइभीको क्षेत्रमा काम गर्नेहरूको भनाइ छ । 

सुदूरपश्चिमबाट भारतीय रोजगारीमा जानेको संख्या ठूलो छ । त्यहाँ हुने असुरक्षित यौनसम्बन्धबाट कतिपय संक्रमित भएर आउने र संक्रमित भएको थाहा नपाउँदा घरमा श्रीमतीलाई सार्ने गरेका छन् । संक्रमितले असुरक्षित रूपमा बच्चा जन्माउँदा बालबालिकामा पनि एचआइभी देखिने गरेको स्वास्थ्य कार्यालय प्रमुख धामीले बताए । भारतबाट संक्रमित भएर आउनेको संख्या धेरै भएकाले सुदूरपश्चिममा एचआइभी संक्रमितको संख्या अन्य प्रदेशभन्दा धेरै रहेको उनको भनाइ छ । 

सेती प्रादेशिक अस्पतालको एआरटी सेन्टरमा एचआइभी संक्रमितको उपचारमा खटिँदै आएका डा. शेरबहादुर कमर रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य नभएसम्म सुदूरपश्चिममा एचआइभी संक्रमण दर घटाउन सम्भव नहुने बताउँछन् ।

भारतमा काम गर्न गएकाहरू संक्रमित भएर आउने र उनीहरूबाट घरमा तिनका श्रीमतीलाई पनि सर्ने भएकाले यहाँ नयाँ संक्रमित फेला पर्ने क्रम घट्न नसकेको डा. कमरको भनाइ छ । ‘अधिकांश संक्रमित आप्रवासी कामदार र उनीहरूका श्रीमती छन्,’ उनले भने, ‘घरबाट टाढा बस्दा हुने असुरक्षित यौन सम्बन्धले संक्रमित हुने र घर फर्केपछि थाहा नपाएरै परिवारलाई सार्ने गरेको पाइन्छ ।’ नयाँ संक्रमित फेला पर्ने दर घटाउन आप्रवासी कामदार र उनका परिवारलाई सचेत गराउने कार्यक्रमहरूलाई व्यापकता दिएर सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ 



leave a comment
तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा info@parbatkhabar.com मा पठाउनुहोला । यस पर्ब-खबर (www.parbatkhabar.com) मा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । हाम्राे कुनै पनि समाचार अनुमति विना साभार गरेको पाइएमा हामी प्रेस काउन्सिल ऐन अन्तर्गत कारबाहीको प्रक्रियामा जाने छौ ।